हेटौंडा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ देउरालीका व्यवसायीहरूले आफ्नो होटल तथा किराना पसलमा खुत्रुकेमा सङ्कलन गरेको रकम विपन्न विद्यार्थी र आर्थिक रूपमा कमजोर विद्यालयलाई सहयोग गर्ने भएका छन् ।

हेटौँडा–कुलेखानी–काठमाडौँ सडकको देउराली क्षेत्रका आठ वटा होटल तथा किराना पसलमा राखिएको खुत्रुकेमा सङ्कलन भएको ४८ हजार ४३५ रुपियाँ आर्थिक पालिकाभित्रमा विद्यालयमा सहयोग गर्ने भएका हुन् । इन्द्रसरोवर गाउँपालिका–२ का वडाध्यक्ष सुमन श्रेष्ठले गत असार यता छ महिनाको अवधिमा सङ्कलन भएको उक्त रकम विद्यालयलाई कम्प्युटर खरिद गर्न वा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई कापी कलम खरिदमा सहयोग गर्ने बारेमा सल्लाह गरी निर्णय गरिने बताए ।
खुत्रुकेमा होटल तथा किराना पसलमा पुग्ने यात्रुले इच्छा अनुसार राख्ने बताउँदै वडाध्यक्ष श्रेष्ठले व्यवसायीहरूले दिनको एक कप चियाको २० रुपियाँले दरले खुत्रुके खोल्ने दिनसम्मको गणना गरी खुत्रुके खोल्ने दिनमा नगदै राख्ने गरेको बताए । खुत्रुकेबाट संकलन भएको रकम मार्खुमा रहेको पञ्चकन्या माविमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहनको लागि ४८ हजार रुपैयाँ सहयोग गरेको थियो ।







