हेटौंडा, तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा मकवानपुर क्रिकेट टोलीले जित निकाल्न सफल भएको छ । दुई खेलमा चितवन क्रिकेट टिमसँग पराजित भएको मकवानपुरले अन्तिम खेलमा चितवनलाई ३ विकेटले पराजित गरेको हो ।
हेटौंडाको हुप्राचौरमा भएको बुधबारको अन्तिम खेलमा चितवनले टस जितेर ब्याटिङ रोजेको थियो । चितवनले ३५ ओभरमा सबै विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चितवनका लागि ओपनर सूर्यांशु कोइरालाले ३९ रन, जेनिस क्षेत्रीले २४, सनम बुढाथोकीले २१ र साकार ढकालले २० रन जोडे भने अन्य खेलाडीले खासै रन बटुल्न सकेनन । चितवनलाई सस्तैमा समेट्नेको लागि मकवानपुरको तर्फबाट रिजन ढकालले र शुभ कंसाकारले समान ३ विकेट, गौरव श्रेष्ठले २ विकेट र पियूश शर्माले १ विकेट लिन सफल भएका थिए ।
जवाफी ब्याटिङ गर्न मैदानमा उत्रेको मकवानपुरको टोलीले ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । मकवानपुरका कप्तान सुमन सुनार नट आउट हुँदै ४९ रन बनाएका थिए भने शुभ कंशाकारले ४६ रन, गोकुल अधिकारीले २० रन, रिजन ढकालले १८ रन, सक्षम बास्ताकोटीले १२ रन र दीपन बानियाँले ११ रन जोड्न सफल भए । चितवनको तर्फबाट विशाल क्षेत्रीले ३ विकेट, सौगात ढकाल र कृजन गुरुङले समान दुई विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच मकवानपुरका कंशाकार घोषित भए । तीन एकदिवसीय मैत्रीपूर्ण श्रृंखलामा चितवनले दुई खेल जित्दै ट्रफी प्राप्त गरेको छ ।







