हेटौंडा, थाहा नगरपालिका वडा नम्वर ५ का ५२ वर्षीय सन्तबहादुर गुरुङले कक्षा ८ को परीक्षा दिईएका छन् । विहीबारबाट थाहा नगरपालिकामा शुरू भएको कक्षा ८ को परीक्षामा झम्केश्वरी माध्यमिक विद्यालयबाट फर्म भरेका गुरूङले पालुङ क्याम्पस परीक्षा केन्द्रबाट परीक्षा दिईएका हुन् ।
चैत १ गतेबाट थाहा नगरपालिकामा शुरू भएको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको थियो । थाहा नगरपालिकामा कक्षा ८ को परीक्षामा ५९५ जना विद्यार्थी सम्मिलित रहेका छन् । थाहा नगरपालिकामा सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालय रहेका छन् ।
जसमध्ये ८ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख माधवबिक्रम मल्लले जानकारी दिए । शिक्षा शाखाले तोकेको परीक्षा केन्द्र बाहेक अन्य विद्यालयका प्रधानाध्यापकलाई परीक्षाको लागि केन्द्राध्यक्ष तोकेको उनले जानकारी दिए । पहिलो दिनको अङ्ग्रेजी बिषयको परिक्षा सौहाद्ररुपमा संचालन भएको शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले जानकारी दिए।







