हेटौंडा, हेटौंडा उपमहानगरपालिकामा रहेको दुइ वटा वडाका ३२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूको लागि लेखा व्यवस्थापन तालिम सोमबारबाट हेटौडामा सुरु भएको छ ।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समितिको व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ को व्यवस्थापनमा ३२ वटा टोल विकास संस्थाका कोषाध्यक्षहरूको लागि ३ दिने लेखा व्यवस्थापन तालिम शुरू गरिएको हो ।
टोल विकास संस्था नगर समन्वय समिति नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । ‘हिसाव कितावलाई पारदर्शी र व्यवस्थित गराउने उद्देश्यले तालिम सुरु गरेका हौँ ।’ नगर समन्वय समितिका अध्यक्ष अधिकारीले भने –‘हेटौंडा उपमहानगरपालिकामा ३ सय ६५ वटा टोल विकास संस्था रहेका छन् । ३ र १९ वडाको तालिम सकिएपछि अन्य वडामा पनि तालिम सञ्चालन गर्ने छौँ ।’ नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठले तालिमको सहजिकरण गर्ने छन् ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति सचिव चन्द्रावति पनेरू, सदस्य ठिसाङ लामा, अन्जु पन्डित, लोकेन्द्र सुर्खेति, श्याम कुमार रिमाल, वडा समन्वय समिति हेटौंडा १९ का अध्यक्ष देवेन्द्र अर्याल, वडा समन्वय समितिका अध्यक्ष रोशन गोले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम टोल विकास संस्था नगर समितिका उपमहासचिव देवकुमार श्रेष्ठले संयोजन गरेका हुन् ।






