हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले यूकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । बुधबार विद्यालयले एक कार्यक्रमका बीच ७९ जना विद्यार्थीलाई दीक्षित गरेको हो । दीक्षित भएका विद्यार्थीहरुलाई विद्यालयले प्रमाणपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गायन प्रस्तुत गर्नुका साथै कक्षा यूकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकले पनि नृत्य प्रस्तुत गरेका थिए । कक्षा यूकेजीका विद्यार्थीहरुले विभिन्न जातीहरुको भेषभुषा पहिरिएर जातीहरुको पहिचान र चाडपर्वको बारेमा प्रस्तुती दिएका थिए । विद्यार्थीहरुले स्वस्थ खाना र अस्वस्थ खानाको बारेमा पनि प्रस्तुती दिएका थिए । यूकेजी तहको अध्ययन पूरा गरेपछि विद्यालयले हरेक वर्ष दीक्षान्त समारोहको कार्यक्रम गर्दै आइरहेको पूर्व प्राथमिक तहका संयोजक अनिता गौतमले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले विगत ४ वर्षको तुलनामा मकवानपुरले अहिले शिक्षा क्षेत्रमा निकै फड्को मारेको बताएका छन् । ‘अभिभावकको सहयोग र सुझाव बिना विद्यालय अगाडी बढ्न सक्दैन ।’ उनले भने –‘अभिभावकको सुझाव विद्यालयको लागि मार्गदशर्क बन्ने छ । विद्यालयमा आएर अभिभावकले विद्यार्थीको निगरानी गर्नुको साथै विद्यालयलाई सुझाव पनि दिनुपर्दछ ।’ शिक्षालाई समाजसम्म नजोडेसम्म शिक्षाको विकास नहुने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सकुन्तला जोशी, तालिम संयोजक अव्यक्त खनाल, शैक्षिक निर्देशक अरुण दहाललगायतको आतिथ्यता रहेको थियो ।






