थाहानगर, थाहा नगरपालिका वडा नं. ४ र ५ का ५० घरधुरीलाई निशुल्क सुधारिएको चुलो मंगलबार वितरण गरिएको छ । थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा हाल थाहा नगरको दामन सिमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो बितरण गरिएको हो ।
मंगलबार थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्ट र वडा नं. ४ का अध्यक्ष नारायण लामाले स्थानीयहरुलाई चुलो हस्तान्तरण गरेका हुन् । चुलो हस्तान्तरण गर्दे थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने र ईन्धनको समेत बचत गराउने सुधारिएकोे चुलो बितरण कार्यक्रमलाई नगरपालिका भर बिस्तार गर्न च्वाईस नेपाललाई आग्रह गरे। नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ३३ प्रतिशत अनुदानमा उपलब्ध हुने चुलोको लागि बाँकी रकम थाहा नगरपालिकाको विकास साझेदारको रुपमा क्रियाशिल संस्था च्वाइस नेपालको वातावरण सुधार कार्यक्रम अन्तर्गत लगानी रहेकोे च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले बताए ।
नेपालको १५०० मिटर भन्दा माथि बसोबास गर्ने परिवारलाई बिभिन्न संघ संस्थासंगको सहकार्यमा नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्धन केन्द्रले ३३ प्रतिशत अनुदानमा करिव १२ हजार मूल्य बराबरको सुधारिएको चुलो बितरण गर्दे आएको छ ।







