हेटौँडा, मकवानपुर जिल्लामै पहिलोपटक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था लागू गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालयले गत वैशाख ४ गते जारी गरेको परिपत्रअनुसार अर्धमासिक तलब भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
अर्थ मन्त्रालयको उक्त परिपत्रमा राष्ट्रसेवक कर्मचारीहरूको तलब तथा भत्ता मासिक रूपमा एकमुष्ट भुक्तानी गर्नुको सट्टा अर्धमासिक रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। सोही निर्देशनलाई कार्यान्वयन गर्दै बोर्डले आफ्ना कर्मचारीलाई अबदेखि तलब दुई किस्तामा वितरण गर्न थालेको जनाएको छ।
बोर्डका लेखा प्रमुख तथा सूचना अधिकारी सञ्जय कुमार न्यौपानेका अनुसार संस्थामा कार्यरत १०४ जना कर्मचारीलाई मासिक रूपमा करिब ३८ लाख २४ हजार रुपैयाँ तलब भुक्तानी हुँदै आएको छ। अर्धमासिक प्रणाली लागू भएसँगै पहिलो चरणमा करिब १९ लाख १२ हजार रुपैयाँ निकासा गरिएको उनले जानकारी दिए।
यस प्रणाली लागू भएसँगै कर्मचारीहरूले मासिक तलब एकैपटक पाउने सट्टा दुई किस्तामा पाउनेछन्। यसले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता ल्याउने र आर्थिक अनुशासन मजबुत बनाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ।
सरकारले सार्वजनिक वित्त व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउन यस्तो प्रणाली लागू गरेको बताइएको छ। जिल्लास्तरमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पहिलो संस्थाका रूपमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अग्रस्थानमा देखिएको छ।






