हेटौंडा, बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अनुशासनविपरीत काम गर्ने प्रहरीमाथि कारबाही गरेको छ। गत साउनदेखि जेठ २२ गतेसम्म प्रहरी अनुशासनविपरीत काम गर्ने १९९ जना प्रहरीलाई कारबाही गरेको हो ।
प्रहरी निरीक्षकसम्मका पदमा कार्यरत प्रहरी कर्मचारीलाई जिम्मेवारी अनुसारको काममा लापरबाही गरेको, कार्यालय समयमा मादक पदार्थ सेवन गरेको, प्रहरी मर्यादाविपरीतका काम गरेको पाइएपछि बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले कारबाही गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले बुधबार कार्यालय परिसरमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा यसै अवधिमा उत्कृष्ट कार्य गर्ने ७३४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जानकारी दिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले प्रहरी सङ्गठनको आन्तरिक सुधार र अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइन् । उनले काम गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन र मनोबल उच्च बनाउन पुरस्कृत, सगठन सुदृढीकरणको कार्यसँगै प्रहरी आचरणविपरीत कार्य गर्ने प्रहरी कर्मचारीमाथि कारबाही र दण्ड गर्नेमा सम्झौता नहुने बताइन् ।







