विपद् प्रभावित ८ किसानलाई ५४ लाख क्षतिपूर्ति

हेटौंडा, बागमती प्रदेश सरकारले प्राकृतिक वा अप्राकृतिक रुपमा भएको कृषि उपज तथा पशुपन्छीको क्षति बापत कृषकहरुलाई राहत रकम वितरण गर्ने निर्णय गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विपदबाट असर परेका कृषकलाई ५४ लाख ६१ हजार रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम वितरण गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

मन्त्रालय मातहत रहेको रराहत व्यवस्थापन तथा निर्देशन समितिको आइबतार बसेको बैठकले कृषको निवेदनको आधारमा अनुगमन तथा जाँचबुझ गरेर राहत रकम वितरण गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विका मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा रहेको उक्त समितिले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका किसानका लागि प्रदेश स्थापना गरेको कोषबाट राहत रकम वितरण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्त झलकनाथ कंडेलले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले पहिलो पटक विपद्बाट क्षति व्यहोरेका कृषकलाई राहत रकम वितरण गर्ने निर्णय गरेको हो । पहिलो चरणमा काभ्रे जिल्लाका ८ वटा फर्मलाई मन्त्रालयले उक्त रकम उपलब्ध गराउने गरी निर्णय गरेको उनले बताए । मन्त्रालयले बिमा गरेका पशुपन्छी तथा कृषि बालीमा राहत रकम नदिने गरी निर्माण गरेको राहत वितरण कार्यविधी बनाएर कार्यान्वयन गरिएको उनले बताए ।

वीमा नगरी कृषि कार्यमा संलग्न रहेका किसानहरु उत्पादनमा पुगेको क्षतिलाई न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा प्राप्त निवेदनको आधारमा उक्त रकम वितरण गर्ने तयारी गरिएको उनको भनाई छ ।

‘कार्यविधी अनुसार क्षति व्यहोरेका कृषकलाई अधिकतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । सोही अनुसार कृषको निवेदन, प्रहरीको मुचुल्का, जिल्ला राहत सिफारिस समितिको सिफारिसका आधारमा अनुगमन तथा जाँचबुझ गरेर पहिलो चरणमा ८ जना कृषकलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।’ उनले भने, ‘प्रदेशका १३ जिल्लाबाट क्षति व्यहोरेका ४० वटा निवेदन प्राप्त भएकोमा पहिले प्राप्त भएकाले प्राथमितामा राखेर राहत वितरणको काम अघि बढाइएको हो ।’

Advertisement 5

मन्त्रालयमा हालसम्म ४० वटा फर्मले क्षतिपूर्तिका लागि निवेदन प्राप्त भएको र सो निवेदनका विषयमा क्रमशः जाँचबुझ र अनुगमन गरि राहत रकम उपलब्ध गराइने प्रवक्ता कंडेलले बताए । समितिको निर्णय अनुसार पहिलो चरणमा काभ्रेको टिम भिजन एग्रिकल्चर फर्म पनौती–५, श्रेष्ठ बंगुर फर्म पनौती–१०, उन्नती हाम्रो बंगर फर्म पनौती–१०, एसएस बंगुर माछा तथा कृषि फर्म बनेपा–७ लाई १०÷१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइने उनले बताए ।

त्यस्तै समितिले नोबेल कृषि फर्म धुलिखेललाई ५ लाख ७० हजार रुपैयाँ, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फर्म चौरीदेउराली–३, काभ्रेलाई ३६ हजार रुपैयाँ, दाजुभाई एकीकृत बहुउद्देश्यीय कृषि फर्म पनौती–९ लाई ३५ हजार रुपैयाँ, गैरीगाउँ कृषि तथा पुशपंक्षी फमै पनौती ५ लाई ८२ हजार रुपैयाँ राहत रकम प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रालयमा हालसम्ममा काभ्रे ८, चितवन १०, मकवानपुर ८, ललितपुर ६, धादिङ, दोलखा, सिन्धुपाल्चोक २/२ र नुवाकोट र सिन्धुली १/१ वटा गरी कुल ४० वटा राहत रकम माग गर्दै निवेदन दर्ता भएको उनले बताए ।

‘अन्य जिल्लाबाट पनि निवेदन प्राप्त भएका छन् । हामी क्रमशः निर्णय गर्दै अगाडि बढ्नेछौं । अनुसार प्रहरी, स्थानीय तह, कृषि कार्यालय र जिल्ला राहत सिफारिसमा मन्त्रालय राहत उपलब्ध गराउने निर्णय गरिएको हो । यसअघि संघीय सरकारले बर्डफ्लुबाट प्रभावित किसानलाई मात्र राहत रकम दिने गरिएको थियो । त्यसमा प्रदेशले समन्वय गर्ने गरेको थियो । अहिले प्राकृतिक तथा अप्राकृतिक विपद्बाट असर परेका कृषकलाई क्षतिपूर्ति उपलब्ध गराएको हो ।’ उनले भने ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि सो कोषमा ३ करोड रुपैयाँ बजेट राखेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा सो कोष संचालनका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *