हेटौंडा, प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा शनिबार भएको खुला कविता प्रतियोगितामा कास्की जिल्लाका संयोग बस्याल प्रथम भएका छन् । आज आयोजित राष्ट्रिय युवा कविता उत्सव २०८१ मा कूल २२३ कवितामध्ये छानिएको उत्कृष्ट २० जना कविले कार्यक्रममा उपस्थित भई कविता वाचन गरेका थिए ।
जसमा बस्याल प्रथम हुँदा कास्कीकै सुदर्शन पौडेल दोस्रो, उदयपुरकी सुमी पोखरेल तेस्रो, बझाङका महेश कठायत सान्त्वना हुन सफल भए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्रदान गरिएको थियो । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले विजयी भएकाहरूलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले साहित्यकार मोमिला जोशीको परिचय प्रस्तुत गरेका थिए ।
कविता उत्सवमा साहित्यकार मोमिला जोशीले १० वटा कविता प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
परम्परागत पेसा र व्यवसायको जगेर्ना गर्दै व्यवसायीकरणमा युवालाई सहयोग गर्न सके युवाहरु उत्प्रेरित हुने भन्दै उनले आफ्नो कार्यकालमा युवामैत्री उद्यमशीलतासम्बन्धी परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पूँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्न पहल गर्ने उनले बताए । त्यस्तै प्रदेश सचिव बद्रीनाथ गैह्रे र परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवाहरुलाई नेतृत्व, व्यक्तित्व विकाससँगै रचनात्मक, सिपमुलक तालिमसँग जोड्न सहयोग समन्वय गरिने बताए ।






