हेटौंडा, बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफलका लागि मंगलबार दिउँसो ४ बजे बसेको प्रदेशसभाको बैठक विपक्षी दलहरुको अवरोधका कारण बेलुका ६ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
६ बजेका लागि आह्वान गरिएको बैठक संचालन हुने अवस्था नरहेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित गरेको हो । बैठक आज बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार प्रदेशसभा बैठकको अरोध हटाउन सभामुख भुवनकुमार पाठकले पहल गर्दा समेत दलहरु बीच सहमति जुट्न नसकेका कारण बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो । उक्त बैठकमा एमाले सहितका प्रतिपक्ष दलका सांसदहरुले सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै सदनमा उठेर विरोध जनाएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गर्न बसेको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले अवरुद्ध गरेपछि सदन स्थगित गरिएको हो ।
प्रदेशसभाको दोस्रो बैठकमा विरोध गरेपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले विपक्षी दलहरुको तर्फबाट धारणा राख्दै हालको अवस्थामा सदन चल्न नदिने बताएका थिए । सरकारले बजेट सन्तुलनका लागि पुनःलेखन नगरेसम्म बैठक चल्न नसक्ने नेता थपलियाले बताएका थिए । उनले सरकारले बजेट निश्चित निर्वाचन क्षेत्रलाई मात्र समेटेर ल्याएको भन्दै बजेट विभेदकारी रहेको आरोप लगाए । ‘सरकारले बजेटमा सन्तुलन कायम गर्न सकेको छैन । सतापक्षका सांसद र प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट र काभ्रे जिल्लाका केही निर्वाचन क्षेत्रलाई मात्र समेटेर बजेट विनियोजन गरिएको छ । बजेटमा प्रतिपक्षीका कुनैपनि सुझाव समेटिएका छैनन् ।
त्यसकारण बजेटलाई प्रतिपक्षी दल एमालेले समर्थन गर्न सक्दैन’, उनले भने । नेता थपलियाको सम्बोधन सकिएसँगै एमाले र राप्रपाका सांसदहरुले उभिएर बैठक सञ्चालनमा अवरोध गरेका थिए । बैठकमा एमाले र राप्रपाका सांसदहरुले आसनबाट उठेर विरोध गरेपछि सभामुख भुवनकुमार पाठकले पटक पटक बस्न रुलिङ गरे । तर, सांसदहरु रोष्टमतर्फ अघि बढेपछि सभामुख पाठकले बैठक स्थगित गरेका थिए । वैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको छलफलको कार्यसूचि रहेको छ । मंललबार नै बसेको प्रदेशसभाको पहिलो बैठकमा प्रदेशसभाको विषयगत समितिहरु घोषणा गरिएको थियो । प्रदेशसभामा कायम रहेको प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति घोषणा गरेर पहिलो बैठक स्थगित गरिएको थियो ।






