राज कुमार के.सी.
हेटौंडा, थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीजले एकै दिन दुई कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीजको आयोजनामा स्थानीय उत्पादनहरुको बजार प्रबर्द्धनका लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।
जेसीजले शुक्रबार बिहान थाहा नगरपालिका वडा नं। ३ मा क्रियाशिल नमूना लघुउद्यमी महिला समूहको समन्वयमा स्थानीय महिलाहरुले उत्पादन गरेका अचार लगायतका उत्पादनहरुको बजार प्रबर्द्धन गर्नमा सहकार्यको लागि समन्वय गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
जेसीजले स्थानीय क्षेत्रमा उत्पादन भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको देशको बिभिन्न भागमा प्रचार प्रसार गरी प्रबर्द्धन गर्नको लागि आवश्यक तयारी गरेको पालुङ जेसीज बर्ष २०२३का कानुनी सल्लाहकार निरज रायमाझीले बताए ।
थाहा नगरमा उत्पादन भएका भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको जेसीजले आफ्नो कार्यक्रमहरुमा थाहा नगरको चिनो स्वरुप र देशका बिभिन्न क्षेत्रमा बजारिकरणको लागि पहल गर्नको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३का अध्यक्ष संगम कार्कीले बताए ।
पालुङ जेसीज बर्ष २०२३ का उपाध्यक्ष अजित कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष संगम कार्कीको माता दुर्गादेबी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा थाहा नगरपालिका वडा नं। ३ की वडा सदस्य एवं कार्यपालिका सदस्य पबित्रा ठकुरी कार्की, महिला समूहकी अध्यक्ष शान्ति तामाङ पालुङ जेसीज बर्ष २०२३ का कोषाध्यक्ष माधव कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, अन्जय प्रधान लगायत समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैगरी शुक्रबार दिउँसो थाहा नगरपालिका वडा नं। ३ मा रहेको सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
थाहा नगरपालिका वडा नं। १ मा रहेको संकल्प पोलिक्लिनिक र विङ युथ संस्थाको सहकार्यमा केन्द्रका २५ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिनुका साथै स्वास्थ परामर्श दिईएको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले बताए ।
स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यतामा भएके थियो ।
पालुङ जेसीजका फेलोसिप संयोजक गणेश बिष्टको संयोजकत्वमा भएको कार्यक्रममा समाजसेवी भरत पराजुली, पालुङ जेसीजका निबर्तमान अध्यक्ष जयराम केसी, कानुनी सल्लाहकार निरज रायमाझी, कोषाध्यक्ष माधव कार्की, तालिम आयुक्त अनिता बिष्ट लगायत बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।