हेटौंडा, १८ साउन/मकवानपुरमा डेङ्गु बिरामी बढ्न थालेका छन । कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेङ्गु बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

डेङ्गु रोगको सङ्क्रमणबाट ३४ जना बिरामी भएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा यो रोगको बिरामी बढी रहेको उनले बताए । सूचना अधिकारी घिमिरेले साउन, भदौ र असोज महिनामा डेङ्गु रोग बढी फैलिने भएकोले गर्दा यसतर्फ सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए ।
सङ्क्रमित हेटौँडा वडा नं ४ तथा ५ का रहेको र उनीहरुको उपचार भइरहेको उनले बताए । गत आवमा १९५ जना डेङ्गु सङ्क्रमणबाट बिरामी भएका थिए ।