बागमती प्रदेशसभा बैठक चैत १० गते बस्ने

हेटौँडा , कांग्रेस अनुपस्थित हुने भएपछि बागमती प्रदेशसभा बैठक चैत १० गतेका लागि सारिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक दुई दिनपछि सारिएको हो । 

मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच भएको छलफलपश्चात् आगामी प्रदेशसभा बैठक शुक्रबार दिउँसो १ बजे सार्ने सहमति भएको हो । प्रदेशसभा सचिवालयले सूचना टाँसेर बैठक सारेको विषय जानकारी गराएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने दिन र समयसमेत निर्धारण भएकोमा नयाँ गठबन्धनमा रहेका दलहरुबीचको असमझदारीका कारण अन्तिम समयमा आएर मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम स्थगित गरेका हुन ।

मुख्यमन्त्री जम्कट्टेलका स्वकीय सचिव विजय बुर्लाकोटीले मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिन आज बुधबारका लागि तय भएकोमा स्थगित भएको जानकारी दिए । उनले भने , “सम्भव भएसम्म शुक्रबार नभए चैत १५ गतेभित्रमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिइसक्ने बताए ।

बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन । प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत फागुन १३ गते मन्त्रीबाट राजीनामा दिएका थिए । पछिल्लो गठबन्धनमा सहभागी दलहरूले विश्वासको मत माग्नुपूर्व छलफल नभएको भन्दै असन्तुष्टि जनाउँदैआएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुपूर्व सत्ता भागबण्डा लगायतका विषयमा दलहरूसँग छलफल नै नगरेको आरोप छ । माओवादी केन्द्रका नेता एवम् प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू हेटौँडा आइनसकेकाले बुधबारको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको बताए।

मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले सूचना जारी गरेको थियो । मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बारेमा छलफल गर्न काठमाडौँमा आज कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button