हेटौंडा, निर्माण कार्य सम्पन्न गरेपछि पनि भुक्तानी नपाएको भन्दै मकवानपुरका निर्माण व्यवसायीले डिभिजन सडक कार्यालय हेटौंडामा ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेल नेतृत्वको टोलीले आइतबार डिभिजन प्रमुख राजेश यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल सरकारको सरोकारवाला निकायले बोलपत्र आव्हान गरी ठेक्का सम्झौतासँगै काम सम्पन्न हुँदा समेत भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आक्रोशित बनेका छन् । असारको मसान्तसम्म पनि भुक्तानी नपाएकोले बाध्य भएर ज्ञापनपत्र बुझाइएको निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष कंडेलले बताए । व्यवसायीको समूहले डिभिजन सडक कार्यालयमा धर्ना समेत दिएको थियो । यथाशिघ्र भुक्तानी नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
डिभिजन सडक कार्यालय अन्तर्गत बारा, पर्सा र मकवानपुरको विभिन्न स्थानमा काम गरेका निर्माण व्यवसायीलाई २० करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको छ । ज्ञापनपत्र बुझाउन अध्यक्ष कंडेलसँगै प्रथम उपाध्यक्ष सागर कटुवाल, द्वितीय उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्र चौलागाईं, सहकोषाध्यक्ष प्रकाश लामा लगायतका पदाधिकारी डिभिजन सडक कार्यालय पुगेका थिए । सडक प्रमुख यादवले रकम निकासाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।







