हेटौंडा, जावलाखेल युथ क्लब सर्लाहीमा जारी साँतौँ संस्करणको राजर्षि जनक गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको पहिलो क्वाटरफाइनलमा साविक विजेता पिप्ले युवा क्लब हेटौँडालाई ३-२ गोल अन्तरले हराउँदै जावलाखेल सेमिफाइनलमा पुगेको हो। जावलाखेलका लागि विशाल तामाङले खेलको १५ औँ मिनेटमा सुमन लिम्बूले प्रहार गरेको फ्री किकको सदुपयोग गर्दै गोल गरेका थिए।
पहिलो हाफमा १-० ले पछि परेको पिप्ले युवा क्लबका लागि खेलको ७२ औँ मिनेटमा विश्व लामाले बराबरी गोल फर्काए पनि धेरै बेर टिक्न सकेन। खेलको ७७ औँ मिनेटमा जावलाखेलका कप्तान सीमान्त थापाले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।
अतिरिक्त समयमा जावलाखेलका ईशव थपलियाले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। इन्जुरीको समयमा पिप्लेका द्रोण थापाले फ्री किकमार्फत गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन। प्रतियोगिताको म्यान अफ दि म्याच घोषित सीमान्त थापाले दश हजार रुपैयाँसँगै ट्रफी हात पारे। भोलि हुने खेलमा चर्च ब्वाइज युनियन र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ।
बागमती युवा क्लब र बागमती नगरपालिका युवा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले पाँच लाख रुपैयाँ पाउनेछन्। प्रतियोगितामा १२ टोली सहभागी छन्।






