हेटौंडा, आगामी आइतवारबाट हुने प्रधानमन्त्री टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ ।
बागमती प्रादेशिक क्रिकेट संघले सामाजिक सञ्जाल फेसबुकमार्फत विहीबारबार सूचना जारी गर्दै प्रदेश टिमका लागि ५ जना वैकल्पिक खेलाडीसहित २० जना खेलाडी छनोट गरिएको जानकारी दिएको छ । बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा हुँदा मकवानपुरका ४ खेलाडीले स्थान बनाउन सफल भएका छन् ।
मकवानपुर क्रिकेट टिमका कप्तान सुमन सुनार, शुभ कंसाकार र रिजन ढकालले प्रदेश टिममा स्थान बनाएका छन् भने साकार गजुरेल वैकल्पिकमा परेका छन् । प्रदेश छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेटेर बागमती प्रदेशको अन्तिम टोलीको घोषणा भएको हो । बागमती प्रदेशको पहिलो खेल उद्धघाटनको दिननै एपिएफ क्लबसँग भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ । सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।







