हेटौंडा, निर्माण कार्यको भुक्तानी माग गर्दै बागमती प्रदेशका व्यवसायीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरले संयुक्त रुपमा निर्माण कार्य गरे वापत पाउनु पर्ने भुक्तानी माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
निर्माण व्यवसायीहरुको काम गरेर रोकिएको रकम भुक्तानी तत्काल गर्नुपर्ने लगायतका माग गर्दै निर्माण व्यवसायी संघले मंगलबार बागमती प्रदशेका मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । निर्माण व्यवसायी महासंघ बागमती प्रदेशले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडा र निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हुन् ।
निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका सहकोषाध्यक्ष राजेश भेटवालले मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारका कारण निर्माण उद्योगीहरु समसयामा परेको बताए । सरकारले निर्माण व्यवसायीलाई समयमा कामको भुक्तानी नगर्दा निर्माण उद्योग समस्यामा परेको उनले बताए । सरकारले अमूर्त रुपमा म्याद थप गर्न गरेको निर्णय अस्वीकार्य रहेको र निर्माण व्यवसायीहरुले सबै आयोजनाहरुको एकमुष्ट म्याद थप गर्न उनले माग गरेका छन् ।
यस्तै निर्माण व्यवसायी संघ मकवानपुरका कार्यबाहक अध्यक्ष सागर कटुवालले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई ज्ञापनपत्र बुझाएका थिए । उनले पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई संवोधन गर्ने गरी मूल्य समायोजन गर्नुपर्ने बताए ।
प्रजिअसमक्ष ज्ञापनपत्र बुझाउन कावा अध्यक्ष कटुवालको नेतृत्वमा द्धितीय उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्रप्रसाद चौलागाई, उपमहाचिव सुरज बर्तौला, कोषाध्यक्ष अनल श्रेष्ठ, सहकोषाध्यक्ष प्रकाश लामासहितको टोली गएको थियो ।
यसैबीच काम गरेको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी महासंघले नौ बुँदे माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।







