हेटौंडा, हेटौंडामा रक्त तत्व निर्माण गर्ने मेसिनको अभावमा उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने समस्या हटेको छ । दुर्घटना तथा अन्य स्वास्थ्य समस्याका बिरामीलाई आवश्यक पर्ने रगतको वर्ग छुट्याउने मेसिन नहुँदा हेटौंडाबाट उपचारका लागि बाहिर जानुपर्ने समस्या रहँदै आएको थियो । यसै समस्यालाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले मेसिन सहयोग गरेको हो । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त सिंगो वर्गीकरणका लागि आवश्यक महत्वपूर्ण उपकरणहरु उपमहानगरपालिकाले दिएको हो ।
उपमहानगरपालिकाले आवश्यक सहयोग गरेसँगै फागुनबाट सेवा सुरु भएको रक्त तत्व वर्गीकरण मेसिनको शुक्रबार रक्त सञ्चार स्थापाना दिवसको अवसरमा उद्घाटन गरिएको छ । उपमहानगरले प्लाज्मालाई जिवित राख्नका लागि आवश्यक फ्रिजसहितको उपकरण दिएको हो । बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले मेसिनको उद्घाटन गरेका हुन् । रक्त सञ्चार केन्द्र हेटौंडालाई रगत वर्गीकरणका लागि आवश्यक पर्ने करिब १५ लाख रुपैयाँ बराबरको मेसिनरी सामग्री हस्तान्तरण गरेको हो । मेसिन हस्तान्तरणसँगै वर्षौंदेखिको समस्या समाधान भएको रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले बताए । मेसिन नहुँदा वर्गीकरण नगरी रगतको मात्र वितरण गर्दै आउनुपर्ने बाध्यता रहेको जानकारी दिँदै उनले अब वर्गीकरण गरेर रगत दिने बताए । हेटौंडाका बिरामी यहि रगत वर्गीकरणको समस्यले बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहेको थियो । मेसिनले प्लाज्मा, प्लेटलेट र प्याकसेल निर्माण गर्ने गर्दछ ।
२०५२ सालमा स्थापना भएको सञ्चार केन्द्रले सञ्चालनमा ल्याएको वर्गीकरण मेसिनका लागि मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि ७ लाख रुपैयाँ खर्च गरेको प्रमुख दाहालले बताए । नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सभापति लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेडाई, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई लगायतको आतिथ्यता रहेको थियो ।







