हेटौंडा, ५ माघ/उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएको चौथो थाहा गोल्डकपको उपाधी माउन्टेन एफसी काठमाडौंले जितेको छ । विहीबार भएको फाइनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।
माउन्टेनको तर्फबाट उर्गेन शेर्पा र अमित लामाले १–१ गोल गरेका थिए । पारिजातको तर्फबाट विदेशी खेलाडी याकुवले गोल गरेका थिए । प्रतियोगितामा माउन्टेन एफसी र पारिजात स्मृति पुस्तकालयले क्रमशः नगद २ लाख र १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको थियो । प्रतियोगितामा हाइ स्कोरर पारिजातका सोलोमन, बेस्ट डिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र म्यान अफ द म्याच माउन्टेनका अमित लामा घोषित भए । थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका मेयर बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, थाहा नगरपालिका वडा नं. १ का वडाध्यक्ष हेरमान गोपाली, ४ का वडाध्यक्ष नारायण लामा, ७ का वडाध्यक्ष शिवराज थिङ, ९ का वडाध्यक्ष राजकुमार बलामीलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएको थियो ।







