हेटौंडा, राष्ट्रिय बाल संरक्षण संजाल हिमाली नबिन समाज र फरगेट मि नटको आयोजनामा १६ औं राष्ट्रिय आवधिक योजनामा बाल संरक्षणको सवाल सम्बन्धि अन्तरक्रिया भएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षता तथा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा परिषदका पूर्व कार्यकारी निर्देशक मिलनराज धरेलले कार्यपत्र प्रस्तुती गर्दै १५ औं आवधिक योजनामा समेटिएका बाल संरक्षणका सवाल र प्रगती, नेपालमा देखिएका बाल संरक्षणका मुख्य सवालहरु, १६ औ योजनामा सम्बोधन गर्न आवश्यक सबाल र सम्भावित कार्यक्रमको बारेमा जानकारी दिँदै पारिवारिक हेरचाह रणनिती आवश्यक रहेको र बालश्रम अन्त्यका लागि क्षेत्रगत अवधारणाको अवलम्वन आवश्यक रहेको बताएका थिए ।
राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बानियाँले परिषद सडक बालबालिकामुक्त राष्ट्र बनाउने अभियानमा कृयाशिल भएकोले सबैको समन्वय र सहकार्यको लागि आह्वान गरेका थिए । उनले बालबालिका सम्बन्धि ऐन बमोजिम बाल संरक्षण प्रणालीको सुदृढीकरणका लागि सरकारले बजेट बिनियोजन गनुपर्नेमा जोड दिए । राष्ट्रिय बाल संरक्षण संजालका अध्यक्ष खतिवडाले १६ औं योजनमा बाल संरक्षणको सवाल नछुटोस भन्नका लागि सरोकारवालाबीच छलफल चलाइएको जानकारी दिँदै बालश्रम संरक्षण प्रणालीको सुदृढीकरण, बालबालिकाको पारिवारिक संरक्षण तथा स्याहारको अधिकार सम्मान र संरक्षणको सवाल लगायतको विषय सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।
परिषदका सदस्य बिनिता खड्का श्रेष्ठले १५ औँ योजनामा अपागंताको बिषय छुट भएकोले अबको योजनामा अपागंताको क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको धारणा राखेकी थिइन् ।







