हेटौंडा, डेंगु रोगको संक्रमणबाट हेटौंडामा एकजनाको मृत्यु भएको छ । हेटौंडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो । तीनदिन अघि हेटौंडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनलाई डेंगु संक्रमण पुष्टि भएको थियो । डेंगु संक्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए ।
बुधबार थप उपचारका लागि भरतपुर गएका प्रधानको विहीबार उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रो पटक डेंगु संक्रमण पुष्टि भएको जानकारीमा आएको छ । राजनीतिसँगै समाजसेवामा क्रियाशील उनलाई डेंगुसँगै मधुमेह र उच्च रक्तचाप रहेको थियो । उनको उपचारको क्रममा चितवनमै मृत्यु भएको हो । यता जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले यस विषयमा कार्यालयमा कुनै जानकारी नभएको बताए । चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले हेटौंडा १२ का राजेश प्रधानको डेंगु संक्रमणबाट मृत्यु भएको मेडिकल कलेजले जानकारी गराएको बताए ।
पछिल्लो समय हेटौंडामा डेंगु संक्रमण बढिरहेको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुने १२ जना नै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । साउन १ महिनामा मात्रै ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।







