हेटौँडा, मकवानपुर जिल्लालाई लागुऔषधमुक्त बनाउने उद्देश्यसहित मकवानपुर रिकभरिङ समूहले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

समूहले हालै कैलाश गाउँपालिका अन्तर्गतका सात वटा विद्यालयमा लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ। विद्यालयस्तरबाटै बालबालिकालाई सचेत गराउने उद्देश्यले शक्तिशाली आधारभूत विद्यालय, कमलादेवी माध्यमिक विद्यालय, भवानी माध्यमिक विद्यालय, व्यास माध्यमिक विद्यालय, धुवाङ माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र रत्नज्योति माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो।

कैलाश गाउँपालिकाको सहयोग तथा मकवानपुर रिकभरिङ समूहको सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनका कारण, प्रभाव र यसबाट जोगिने उपायबारे जानकारी गराइएको थियो। समूहका निर्देशक सन्दिप शाक्यका अनुसार विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनको जोखिमबारे सचेत गराउँदै लागुऔषधरहित समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
मकवानपुर रिकभरिङ समूहले स्थानीय तहसँग समन्वय गरी विद्यालयस्तरमा शिक्षक, विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै विगत एक दशकदेखि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले स्थापना कालदेखि नै लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आइरहेको छ।






