हेटौंडा, मानव अधिकारकर्मी, अधिवक्ता तथा उपप्राध्यापक कृष्णप्रसाद दाहाल छाँयादेवी स्मृति मानव अधिकार सम्मान–२०८० बाट सम्मानित भएका छन् ।
नेपाल मानव अधिकार संगठन मकवानपुरले शुक्रबार सम्मान तथा सातौं वार्षिक साधारण सभाको आयोजना गरी दाहाललाई नगदसहित सम्मान गरेको हो । दाहाललाई कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
संगठनका अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकारी आयोग बागमती प्रदेश कार्यालयका अधिकृत लोकनाथ घिमिरे, वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, संगठनका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, संगठनका प्रदेश अध्यक्ष अप्सरा बस्नेत, गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल पत्रकार महासंघ मणिराज गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संगठनका प्रदेश अध्यक्ष एवम् जिल्ला अदालत बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतले महिला विरुद्धको भेदभाव सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने संगठनका कोषाध्यक्ष तेजकुमारी थापाले आर्थिक प्रतिवेदन र अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।






