हेटौंडा, बागमती प्रदेश आन्तरिक मामला तथा कानुन मन्त्रालयको सहयोगमा र रिकभरिङ नेपालको आयोजनामा बागमती प्रदेशका लागुऔषध पुनर्स्थापना केन्द्रहरूका सञ्चालकहरूका लागि हेटौंडामा तीनदिने. मनोपरामर्श तालिम प्रदान गरिएको छ । तालिम जेठ २७ गतेबाट सुरु भई २९ गते सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री माननीय सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा गरिएको थियो। उद्घाटन समारोहमा बागमती प्रदेशका सांसदद्वय माननीय एकलाल श्रेष्ठ र छिरिङ दोर्जे लामा, मन्त्रालयका सचिव कृष्ण बहादुर शाही, नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, रिकभरिङ नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुव केसी, केन्द्रीय सदस्य सन्दीप शाक्य, प्रदेश उपाध्यक्ष किरण गुरुङ, गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटा लगायतको विशेष आतिथ्यता रहेको थियो।
रिकभरिङ नेपाल बागमती प्रदेश अध्यक्ष दिवाकर राज श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य सौजन डीसीले गर्नुभएको थियो। तालिमको स्वागत मन्तव्य प्रमुख प्रशिक्षक मधुसुदन सिजापतीले दिनुभएको थियो।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा बागमती प्रदेशका विभिन्न पुनर्स्थापना केन्द्रहरूबाट करिब ५० जना सञ्चालकहरूको सहभागिता जनाएको थियो। तालिमले पुनर्स्थापना केन्द्रको प्रभावकारिता बढाउन तथा लागुऔषध प्रयोगकर्ताहरूको समुचित पुनर्स्थापनाका लागि मनोपरामर्श सम्बन्धी सीप तथा ज्ञान अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।







