हेटौंडा, कान्ति लोकपथ सडक अन्तर्गत मकवानपुरका बकैया गाउँपालिका वडा नं.११ घट्टेपाखामा मंगलबार दिउँसो टिपर सडक अनियन्त्रित भएर मिक्चरमाथि दुर्घटना भएको छ । हेटौंडातर्फबाट लेनडाँडातर्फ जाँदै गरेको क्रस गिट्टी लोड बोकेको ना।८ख ४९९० नम्बरको टिपर बा.प्र.०१–००४ ख ०२८५ नम्बरको मिक्चरमाथि दुर्घटना भएको हो ।
दुघटनामा परी मिक्सर चालक मकवानपुरगढी गाउँपालिका–१ पुतलीडाडा बस्ने ३३ बर्षीय जित बहादुर भोलन र टिपर चालक मकवानपुरगढी गाउँपालिका–४ बस्ने ३३ बर्षीय सन्त बहादुर भोलन घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार मिक्चर चालक जित बहादुर कम्बरको भागमा चोट लागेको अवस्था गम्भीर रहेका छन् भने टिपट चालक सन्त बहादुरको अवस्था मध्यम रहेको छ । घाइते मध्ये एकको उपचारका लागि चितवन पठाईएको र एकको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टिपर कान्ति लोकपथबाट करिब १० मिटर तल फाष्ट ट्र्याकको सुरुङ मार्ग निर्माण स्थल कोलखोप जाने सडकमा दुर्घटना भएको हो । टिपरले क्षमता भन्दा बढी गिट्टी बोकेर आएको टिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयका अनुसार दुर्घटनामा परेका दुबै सवारी फाष्ट ट्र्याक निर्माण कार्यमा सामाग्री ओसारपसार गर्ने सवारीसाधन हुन् ।






