हेटौँडा, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार भएको चौथो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका अपूर्व आचार्य प्रथम भएका छन् । हेटौंडाका २२ वटा विद्यालयका ३२ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा जेनिथ इन्टरनेशनल एकेडेमी विद्यालयका ईराज पौडेल दोस्रो, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयकी अक्सा खातुन तृतीय, बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका आरमन कार्की सान्त्वना भएका थिए ।

विद्यालयका संस्थापक प्रबन्धक श्यामकुमार बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ संगीतकार तथा गायक बुलु मुकारमको प्रमुख अतिथिमा प्रतियोगितामा विजयी भएकालाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद नगद १० हजार, ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा विद्यालयको परिसरमा खाना महोत्सव भएको छ ।
हाम्रो स्थानीय विषय अन्तर्गत स्थानीय खाना र परिकारको पहिचान गराउने उद्देश्यले खाना महोत्सव कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा गायिका लोचन भटटराई र ओमप्रकाश राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा गायिका पेमा शर्मा, राधा ज्ञवाली, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालका अध्यक्ष केशवलाल श्रेष्ठ, साहित्यकार डा. निमेष निखिल, तरङ्ग साहित्यिक परिषदका अध्यक्ष उज्जवल शर्मा भण्डारीलगायतको आतिथ्य रहेको थियो ।







