हेटौंडा, उद्योग संघ मकवानपुरद्वारा संचालित एम स्टार्ट अप बिजनेस इन्क्युबेशन सेन्टर द्वारा आयोजित पाँच दिने नवउद्यमशाला बुटक्याम्पको अन्तिम दिन हाट बजारको आयोजना गरी समापन भएको छ।
असोज १४ गते देखि संचालन भएको बुटक्याम्पमा चयन भएका उद्यमीहरुले ४ दिन सम्म ब्यवसायसँग सम्बन्धित विभिन्न बिषयमा छलफल गर्नुका साथै विज्ञहरुसँग गहन रुपमा मन्थन गरी आफ्नो व्यवसायलाई परिस्कृत गर्ने अवसर पाएका थिए। उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेलको संयोजकत्वमा आयोजित बुट क्याम्पलाई सहयोगी संस्था अन्तरप्रेरणा नेपाल प्रा.लि. का अषिम श्रेष्ठ र अमिर महर्जनले सहजिकरण गरेका थिए ।

बुट क्याम्पमा ब्र्याण्ड लजिकका सिईओ रोशन निरौलाले डिजिटल मार्केटिङ, आन्तरिक राजश्व कार्यालयका अधिकृत मनिष कुमार महतोले कर व्यवस्था, एशियन पेन्ट्स नेपाल प्रा.लि.का रमन खनालले प्रतिस्पर्धी बिश्लेषण सम्बन्धि प्रस्तुति दिएका थिए । मकवानपुर बहुमुखि क्याम्पसका उप–प्रमुख डा. यम सिलवाल तथा सिद्धार्थ बैकं हेटौंडाका शाखा प्रबन्धक अर्पण सन्जेलसाथै विभिन्न उद्योगीहरुले श्रोत व्यक्तिका रुपमा सहयोग गरेका थिए ।
अन्तिम दिनमा आयोजना गरिएको हाट बजारमा बुटक्याम्पमा सहभागी ब्यवसायीहरुले आÇनो उत्पादन र सेवाको प्रदर्शनी गरेका थिए। उक्त हाट बजारमा सहभागीहरुले व्यवसायको परिक्षण गर्नुका साथै सम्भावित ग्राहक, लगानिकर्ता तथा मेन्टरसँग जोडिने अवसर पाएका थिए । बिहान १० बजे देखि दिउँसो २ बजेसम्म आयोजित उक्त हाट बजारलाई २०० जना उद्योगी, व्यवसायी, बैकंर, शिक्षक लगायतका सरोकारवालाहरुले अवलोकन गरेका थिए। कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेल तथा नवोदय शिशु सदन विद्यालयका निर्देशक दिपेश जोशीले सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।






