हेटौंडा, गैर सरकारी संस्था (गैसस) महासंघ नेपाल मकवानपुरको आयोजनामा लैङ्गिक हिंसा न्यूनिकरण, तनाव व्यवस्थापन र साइबर क्राइम सम्बन्धी तीन दिने तालिम शनिबार हेटौंडामा सुरु भएको छ । प्रदेश युवा परिषद बागमती प्रदेशको सहयोगमा भएको तीन दिने तालिममा ४० वर्ष भन्दा कम उमेर समूहका यूवालाई लक्षित गरी तालिम आयोजना गरेको हो ।
गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा लैङ्गिक हिंसा न्यूनिकरण तथा त्यसको प्रावधान विषयमा बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक गौतम, तनाव व्यवस्थापनमा डाक्टर विजय सिग्देल र कोसिस नेपालका कार्यक्रम संयोजक सुनिरा लामा तथा साइबर क्राइमसम्बन्धी डिआइजी कार्यालयले सहजीकरण गर्ने आयोजकले जनाएको छ । तालिमको समापन जेठ १५ गते गणतन्त्र दिवसको दिन हुनेछ ।
तालिममा नेपाली सेनाबाट ७ जना, सशस्त्र प्रहरी गण १४ नम्वरबाट ६ जना, नेपाल प्रहरीका ८ जना, सामूदायिक प्रहरी २ जना, पुर्नस्थापना केन्द्रमा आश्रय लिइरहनु भएका किशोरी १६ जना, नारी संरक्षण केन्द्रमा आश्रय लिएका ६ जना अपाङ्ग सरोकार केन्द्रका ६ जना, नर्स स्टाप ८ जना, युवा विद्यार्थीहरु तथा विभिन्न नागरिक संघ संस्थाको प्रतिनिधि गरी ७५ जनाको सहभागीता रहेको छ । कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सचिव बुद्धशरण लामा, अधिवक्ता मदन दाहाल, गैसस महासंघ प्रदेशका उपाध्यक्ष कमलकुमार विश्वकर्मालगायतको आतिथ्यता रहेको थियो ।







