वक्तृत्वकला प्रतियोगितामा जीएस निकेतनका आदर्श प्रथम

हेटौंडा, विज्ञान शिक्षक समाज नेपाल (स्टान) मकवानपुरले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा जीएस निकेतन विद्यालयका आदर्श पौडेल प्रथम हुन सफल भएका छन् ।

नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको समृद्ध समाज निर्माणका लागि विज्ञान शिक्षाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा पौडेल प्रथम हुन सफल भए । यसैगरी जीएसकै प्रतिशा कार्की द्वितीय, चण्डीका माध्यमिक विद्यालयकी तेजकुमारी बास्कोटा तृतीय, बालजागृति इंग्लिस सेकेण्डरी विद्यालयको छात्रा रितिका छत्कुली र नवोदय शिशु सदन विद्यालयको छात्रा विदुषी हुमागाई सान्त्वना हुन सफल भए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ६ हजार, ५ हजार, ४ हजार, ३ हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो । स्टान मकवानपुरले आयोजना गरेको गाउँपालिका र नगरपालिकामा विजयी भएका २५ जना विद्यार्थीले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगितामा साहित्यकार देवराज तिवारी, चिरन्जीवि लामिछाने र शान्तिप्रिय बन्धनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

स्टान मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका घलानले देश परिवर्तनको लागि राम्रो पढ्ने विद्यार्थीहरु अब राजनीतिमा आउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरेलगायत स्टानका पदाधिकारीहरुको सहभागिता रहेको थियो । स्टान मकवानपुरले नवोदय विद्यालयका विज्ञान कार्यशालाको पनि आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button