हेटौंडा, थाहा नगरमा भएको चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्य प्रतियोगिताको उपाधी सुहाना गोपालीले जित्न सफल भएकी छिन् । पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै गोपालीले उपाधी चुमेकी हुन् । सुहानाले २ हजार ९ सय ८७ भोट प्राप्त गर्न सफल भइन् ।

यसैगरी २ हजार ६ सय ७५ भोट प्राप्त गर्न सफल भएकी कृपा गोपाली द्वितीय र २ हजार ५ सय ९१ भोट प्राप्त गर्न सफल भएकी सन्ध्या थापा तृतीय हुन सफल भइन् । २ हजार २ सय १८ भोट पाएकी सोनिमा वाईवा चौथो, ६ सय ३१ मत पाएका अनिश लामा पाँचौँ र २ सय ६९ मत पाएका विजय मगर छैठौँ हुन सफल भएको प्रतियोगिताका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । प्रतियोगितामा बेष्ट डान्सर सन्ध्या थापा घोषित भइन् ।
थाहानगर उद्योग वाणिज्य संघले आयोजना गरेको कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सवको मङ्गलबार भएको समापन कार्यक्रममा प्रतिस्पर्धीहरुलाई पुरस्कार वितरण गरिएको थियो । भोटिङको आधारमा प्रतियोगिताको निर्णय सार्वजनिक गरेको हो । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । आइडल एकल नृत्य प्रतियोगितामा विजयी भएका प्रतिस्पर्धीलाई थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाचौँ र छैठो हुनेलाई क्रमशः नगद ३० हजार, २० हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित शिल्ड, मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका थिए । मंसिर १४ गतेबाट शुरु भएको थाहा महोत्सव मङ्गलबार समापन भएको छ । मङ्गलबार चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र गायिका अस्मिता अधिकारीले प्रस्तुती दिएका थिए ।






