हेटौंडा, मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रधानमन्त्री कप क्रिकेट टिम छनौट प्रतियोगिताको उपाधी मकवानपुर क्रिकेट क्लबले जितेको छ ।

विहीबार भएको फाइनल खेलमा ओमनगर क्रिकेट क्लवलाई ३९ रनले पराजित गर्दै मकवानपुर क्रिकेट क्लबले उपाधी जितेको हो । शुरुमा ब्याटिङ गर्न मैदान उत्रेको मकवानपुर क्रिकेट क्लले निर्धारित ४० ओभर खेल्दै ९ विकेटको क्षेतिमा सम्मानजनक २ सय २३ रन बनाउन सफल भयो । मकवानपुरको लागि सुमन सुनारले ७५ रन र रिजन ढकालले ५२ रन बनाउन सफल भए । ओमनगरको तर्फबाट रोहित ठाकुर र पियुश शर्माले समान २/२ विकेट हात पार्न सफल भए ।
२ सय २४ रनको सम्मानजनक लक्ष्य पाएको ओमनगर ३८ ओभरमा अलआउट हुँदै १ सय ८४ रनमै सिमित बन्यो । ओमनगरको लागि गौरभ खड्काले ८७ रन र शुभ कंसाकारले ४२ रन बनाउन सफल भए । मकवानपुरको तर्फबाट समिर चौलागाईले ३ विकेट हात पार्न सफल भए । प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच रिजन ढकाल घोषित भए भने बेष्ट ब्याटसमान गौरभ खडका, बेष्ट बलर समिर चौलागाई र प्रतियोगिताको प्लेयर अफ द सिरिज तक्षक सिम्खडा घोषित भए । प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरुको खेल प्रदर्शनीका आधारमा मकवानपुरबाट १८ जना खेलाडीहरुलाई दोस्रो चरणको छनोट प्रतियोगिता प्रदेश पठाउने प्रदेश क्रिकेट संघको उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिए ।

गतवर्षको प्रतियोगितमा मकवानपुरबाट रामनरेश गिरी, गौरव खड्का, रिजन ढकाल र शुभ कंसाकार छनोट भएको थियो। छनौट प्रतियोगितामा ५ वटा टिमले सहभागिता जनाएका थिए । मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो ।







