हेटौंडा, यही चैत २३ गते (शुक्रबार) बाट हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सहव्यवस्थापनमा हुन लागेको प्रतियोगितामा एक क्याम्पस र १५ वटा विद्यालयले सहभागिता जनाएको छ ।
आयोजकले विहीबार खेल तालिका पनि सार्वजनिक गरेको छ । शुक्रबार सनसाइन इङ्लिस माध्यमिक विद्यालय विरुद्ध कृष्ण आदर्श इङ्लिस माध्यमिक विद्यालयबीच पहिलो खेल हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा सत्यम जेभियर्स इङ्लिस माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा क्याम्पस, जनज्योति माध्यमिक विद्यालय, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, सनसाइन इङ्लिस माध्यमिक विद्यालय, कृष्ण आदर्श इङ्लिस माध्यमिक विद्यालय रहेका छ । यसैगरी समूह बीमा भुटनदेवी माध्यमिक विद्यालय, जनक माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, जीएस निकेतन विद्यालय, तुलसी मेहर माध्यमिक विद्यालय, बालज्योति माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालय रहेका छन् ।
प्रत्येक टिममा १० जना खेलाडी र २ जना अफिसियल रहनु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ।






