हेटौंडा, मकवानपुरको थाहा नगरपालिकाले फोटोमार्फत पर्यटकीय गन्तव्यहरु देखाउने प्रयत्न थालेको छ । फोटोको माध्यमबाट चिनारी गराई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप हेटौंडामा शुक्रबारबाट थाहा फोटो प्रदर्शनी शुरु भएको छ ।

शुक्रबार र शनिबार संचालन हुने थाहा फोटो प्रदर्शनीमा ५ हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । हेटौंडा–१० बुद्ध चोकमा मकवानपुरको पर्यटकीय नगरि थाहा नगरपालिकाका पर्यटकीय क्षेत्रका चित्रहरु समावेश गरिएको छ ।
थाहा नगरको पर्यटन विकासलाई टेवा पुगेको र देशको संघिय राजधानीको मुटुमा आफ्नो गाउँ ठाउँ चिनाउने प्रयत्नका साथ कायक्रम आयोजना गरिएको स्थानीय फोटोग्राफर गणेश विष्टले जानकारी दिए । प्रदर्शनीमा ९ जना फोटोग्राफरले खिचेका थाहाका कला संस्कृति र प्रकृतिक दृष्य समेटिएको ६० वटा फोटोहरु राखिएको उनले बताए ।
२ दिनसम्म चल्ने उक्त फोटो प्रदर्शनीमा जिल्लाका प्रकृतिक सुन्दरता, हिमश्रृखलाको दृश्यावलोकन, ऐतिहासिक मठ मन्दिर, पार्टी पैवा, सभ्यता, संस्कृति धार्मिक क्षेत्र ,मेला जात्रा, ग्रामिण जिवनशैली, स्वच्छ र सफा वातावरण लगायतक विभिन्न विधामा आधारित फोटोहरु राखिएको उनको भनाई छ । थाहा पर्यटनको लागि प्रचुर सम्भावना हुँदा हुदै पनि आझेलमा परेको अवस्थामा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि तस्विरहरु मार्फत पर्यटकहरुलाई देखाउने प्रयास गरिएको उनले बताए ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले प्रर्दशनीको उद्घाटन गरेकी हुन् । प्रर्दशनीको उद्घाटन गर्दै मेयर लामाले प्रर्दशनीले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन् । बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रर्दशनीले सघाउ पुग्ने उनले बताइन् । जिल्लाको पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनका लागि १० वटै स्थानीय तहहरु एकजुट हुन जरुरी रहेको उनको भनाई छ । हेटौंडा उपमहानगरपालिकाले पनि छिट्टै नै पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्रर्दशनीहरु आयोजना गर्ने तयारी गरिएको उनले बताइन् ।







