हेटौंडा, आगामी माघ २७ गते मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशनबाट तीन जना मुक्तककारलाई सम्मान गर्ने भएको छ । पुस २० गते बसेको मुक्तक मञ्च मकवानपुरको कार्यसमितिको बैठकले माघ २७ गते दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशनको कार्यक्रम आयोजना गरी विभिन्न मुक्तककारलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष डिवि बर्तौलाले जानकारी दिए ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट पोखराका मुक्तककार दीपक समिपलाई प्रदान गर्ने भएको छ । उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । गत वर्ष यस सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित भएका थिए ।
मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्थापित रू. ७ हजार ५ सय राशीको तारा स्मृति सम्मान २०८० बाट मुक्तककार हरिकृष्ण काफ्लेलाई प्रदान गरिने भएको छ । प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०७९’ बाट थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जानलाई प्रदान गर्ने भएको छ । गत वर्ष माध्यमिक स्तरीय मुक्तक प्रतियोगिता गरी विजेता समर्पण न्यौपानेलाई समर्पण गरिएको थियो । यो सम्मानको राशी नगद ५ हजार ५सय ५५ रुपैयाँ रहेको छ।
पुस २८ गते आयोजना हुने १२ औं मुक्तक वाचन शृङ्ख्ला साथै मुक्तककारद्वय दीपक गौतम र किसन पौडेलको विशेष मुक्तक वाचन गरिनुको साथै आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिने छ । २ हजार ५ सय शुल्क बुझाई संस्थाको आजिवन सदस्या बन्न सकिने मुक्तक मञ्च मकवानपुरले जनाएको छ । मुक्त मञ्च मकवानपुरको अधिवेशनको दिन मुक्तक प्रतियोगिता पनि आयोजना गरिने अध्यक्ष बर्तौलाले जानकारी दिए ।







