हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको विविध खेलकुद प्रतियोगिता जारी रहेको छ । विद्यालयको एथ्लेटिक्सतर्फको विभिन्न विधाका खेल आज बुधबार हेटौंडाको क्याम्पाचौरमा शुरु भएको छ । विद्यालयका खेल शिक्षक तथा प्रतियोगिताका संयोजक तक्षक सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा अध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका घिमिरेले पठनसँगै नवोदय विद्यालयले खेलकुदक्षेत्रलाई जोड्दै आइरहेकोमा जोड दिएका थिए । उनले खेलकुद प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । अन्तर सदनात्मक हाउसमा हुने जुनियर र सिनियरका विद्यार्थीहरुले विभिन्न खेलहरुमा सहभागिता जनाएका छन्। जसमध्ये लुडो, भलिबल, फुटबल, क्रिकेट, चेस, टेबलटिनेसको खेल सम्पन्न भइसकेको खेल शिक्षक सिम्खडाले जानकारी दिए ।
बुधबार भएको १०० मिटर सिनियर दौड प्रतियोगितामा कञ्चनजङ्घा सदनका सचिनकुमार यादव प्रथम, सगरमाथा सदनका अभिराज कार्की द्वितीय र अन्नपूर्ण सदनका प्रसिद्ध जर्गा तृतीय हुन सफल भए । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले मेडल प्रदान गरेका थिए । कार्यक्रममा स्काउटका विद्यार्थीहरुले मार्च पास पनि गरेका थिए ।
बुधबार क्याम्पाचौरमा १०० मिटर सिनियर छात्रा, १०० मिटर छात्र र छात्रा दौड, स्पोन रेस, म्याथम्याटिकल रेसलगायतका खेल सञ्चालन हुने छ भने । विहीबार जिम्नास्टीक प्रदर्शनी, ड्रिल डिस्प्लेलगायत अन्य विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन हुने विद्यालयले जनाएको छ ।
जिम्नास्टीक प्रदर्शनीमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विद्यार्थीहरुले जिम्नास्टीक प्रदर्शन गरीने विद्यालयका इभेन्ट म्यानेजर प्रेम क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा मकवानपुर एथ्लेटिक्स संघका उपाध्यक्ष बिनोद श्रेष्ठ, सदस्य हरिप्रसाद विडारी, रमण कुमार झाले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।






