हेटौंडा, चर्च ब्वाइज युनाइटेड मकवानपुरमा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०८१ सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । चर्च ब्वाइजका लागि टाइब्रेकरमा विदेशी खेलाडी अर्मान विडम, सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे । आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पीजंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च ब्वाइजका गोलरक्षक टेकेन्द्रसिं थापाले रोके ।
खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणीन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीलगायतले ट्रफी र नगद प्रदान गरे ।
आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।






