ओम बृद्धाश्रमलाई खाद्यान्न र नगद सहयोग

हेटौंडा, रेडियो मकवानपुर र यसको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हेटौंडा २ मा रहेको ओम बृद्धाश्रमलाई खाद्यान्न र नगद सहयोग गरेको छ । सहकारीको २६ औं स्थापना दिवस र रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार ओम बृद्धाश्रमलाई नगद ५ हजार २५ रुपैयाँसहित ४ बोरा चामल, नुन, तेल, दाल लगायतका सामग्री सहयोग गरेको हो ।

ADVERTISEMENT

रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंैडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । महर्जनले आफ्नै वडामा रहेको रेडियो मकवानपुरले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे । अनुगमनको क्रममा बृद्धाश्रमको व्यवस्थापन राम्रो रहेको भेटिएको उल्लेख गर्दै उनले अख्तियारमा उजुरी परेकोले यस पटक बजेटको व्यवस्थापन गर्न नसकिएको बताए । आगामी वर्ष बृद्धाश्रमको लागि बजेटको व्यवस्थापन गर्ने वडा अध्यक्ष महर्जनले बताए ।

१ नम्बर वडा अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले सहकारीको स्थापना दिवस र रेडियोको वार्षिकोत्सवमा बृद्धाश्रमलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । बृद्धाश्रमका सञ्चालक सदस्य उत्तमप्रसाद पौडेलका अनुसार २०६४ सालबाट सुरु भएको आश्रममा हाल २५ जना आश्रित रहेका छन् । विभिन्न सहयोगी संघसंस्था एवम् व्यक्तिहरुको सहयोगबाट आश्रम सञ्चालन भैरहेको उनले जानकारी दिए । रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीले आगामी दिनमा पनि सहयोगको कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा सदस्य विजय पौडेल, दिव्यतारा सहकारीका सचिव ईश्वर पन्डित, रेडियो सन्चालक समितिका सदस्य यतिराज सापकोटा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी गिरी लगायतको आतिथ्यता रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार र शनिबार मिडिया कप फुट्सल प्रतियोगिता, शनिबार मनहरी ५ मा निशुल्क स्वास्थ्य शिविर, आइतबार बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला र २२ गते सप्ताहव्यापी कार्यक्रमको समापन एवम् सामुदायिक सम्मान २०८० प्रदान कार्यक्रम रहेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *