हेटौंडा, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गरि मुख्य निर्वाचन अधिकृत महेन्द्र बहादुर कार्कीले कार्यालय स्थापना गरेका हुन् ।

हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । हेटौंडामा बागमती प्रदेशअन्तर्गत्का मतदाताले मतदान गर्ने छन् । मतदान हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ ।
राष्ट्रिय सभाको रिक्त १९ सिट मध्ये बागमती प्रदेश अन्तर्गत ४ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत कार्कीका अनुसार बागमती प्रदेशमा ३ सय ४७ जनाले मतदाता गर्नेछन् । बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहित ३४७ जना मतदाता रहेका छन् ।
प्रदेशका ११९ स्थानीय तहहरुका २३८ प्रमुख र उपप्रमुख मध्ये एक जनाले मतदानमा सहभागि हुन पाउने छैनन् । दोलखाको गौरीशंकर गाउँपालिकाका उपप्रमुख पद रिक्त रहेकाले मतदानमा भाग लिन नपाउने भएका हुन् । राष्ट्रय सभा सदस्य पदका लागि प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको १९ कायम गरिएको छ ।







