हेटौंडा, जीएस निकेतन माध्यमिक विद्यालयको २३ औँ अभिभावक दिवस विहीबार हेटौंडामा भएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेकी हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षालाई प्राथमितामा राख्दै शैक्षिक वर्ष मनाउने तयारी गरेको बताएकी हुन् । शैक्षिक वर्ष मनाउनका लागि गृहकार्य भैरहेको भन्दै शिक्षाको सुधारका लागि उपमहानगर लागिपरेको दावी गरिन् ।
पैसाकै अभावका कारण शिक्षाबाट कोही पनि बाहिरिन नपरोस भन्दै उपमहानगरले छात्रवृत्तिको व्यवस्था गरेर सहयोग गरिरहेको भन्दै समस्यामा सँधै साथ र सहयोगका लागि तयार रहेको बताइन् । शैक्षिक तथा प्राविधिक क्षेत्रको विकाससँगै चुनौती थपिदै गएको मेयर लामाको भनाई थियो । अभिभावक भेलामा विद्यालयबाट २०७९ को एसईई परीक्षामा सहभागी १२८ विद्यार्थीमध्ये सर्वाेत्कृष्ट ३ दश्मलव ८५ जीपीए प्राप्त गरेकी छात्रा नियती खतिवडालाई नगद ५ हजार ५५५ रुपैयाँ र २०६९ सालको एसएलसी परीक्षामा ९२ दश्मलव ८८ प्रतिशत अंक ल्याउँदै जिल्ला प्रथम भएका अस्मित पोखरेललाई उत्कृष्ट पूर्व विद्यार्थी सम्मान २०८० बाट सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक ईश्वर लामिछानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा विद्यालयको शैक्षिक सुधारका लागि बाल उद्यान निर्माण गरी विद्यार्थीलाई बाहिरी वातावरणमा अघि बढाउन खोजिएसँगै विद्यार्थीका लागि व्यवस्थित खाजा घरका लागि मर्मत सम्भार गरिएको बताए । उनले पछिल्लो समय मोवाइलबाट बालबालिकालाई टाढा राख्न नसक्दा समस्याहरु देखिन थालेको भन्दै विद्यालयभित्र र बाहिर हुने सामुहिक भेलाले समस्या आएको बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देल, ५ का अध्यक्ष सुशिल घिमिरे, ज्ञानदिप बहुउद्देश्यीय सहकारीका अध्यक्ष ऋषिराम पोखरेल लगाएतको आतिथ्यता रहेको थियो । बिद्यालयमा १ हजार १४८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।






