राष्ट्रिय पुस्तक दिवसमा वहस कार्यक्रम

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ५ मा रहेको पुष्पलाल स्मृति पुस्तकालयको आयोजनामा वसन्त पञ्चमी तथा एघारौँ राष्ट्रिय पुस्तक दिवस बुधबार हेटौंडामा मनाइएको छ । साहित्य सङ्गम मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्यालयको साझेदारीमा सञ्चालित पुस्तकालयले वसन्त पञ्चमी तथा राष्ट्रिय पुस्तक दिवसको अवसरमा पठन संस्कृतिको विकासमा हाम्रो भूमिका विषयक वहस कार्यक्रम भएको थियो।

ADVERTISEMENT

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडाध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । मकवानपुरे पत्रकार तथा प्राध्यापक सुरेश श्रेष्ठ, बालजागृति युवा वर्ष माध्यमिक विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारी र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी शिवराज शाही कार्यक्रमको वक्ता रहेका थिए भने कार्यक्रमको सहजकर्ता संप्रस पौडेलले गरेका थिए ।

बालजागृति युवा वर्ष माध्यमिक विद्यालयकी प्रधानाध्यापक अधिकारीले विद्यालयले विद्यार्थीहरुलाई विषयवस्तुको भार बोकाउँदा नैराश्यता छाएको बताएकी छिन् । बालबालिकालाई विषय वस्तु भन्दा बाहिरका पाठ्य वस्तु पढ्नमा इच्छा जागरुक गर्न सकेमा विद्यार्थीहरुले कक्षाको विषयवस्तु आफैँ पढ्ने उनको दावी रहेको छ । ‘स्थानीय सरकारको सहयोगमा विद्यालयमा पुस्तकालय निर्माण भएको छ ।’ अधिकारीले भनिन् –‘विद्यार्थीहरुलाई जबरजस्ती पढ्नुस् भन्दा पुस्तकालयबाट भाग्ने पो हो कि भनेर स्वस्फूर्त रुपमा विद्यार्थीहरुले किताब पढिरहेका छन् ।’

‘विद्यालय जाने उमेर समूहका बालबालिकाले मात्र पढ्नु पढ्ने संस्कृति हो भन्ने बुझ्नु भएन ।’ पत्रकार सुरेश श्रेष्ठले भने –‘घरका बाबा, आमाले अन्य आफन्तले पनि पुस्तक पढ्नु पर्यो । परीक्षाको लागि मात्र पढ्नु हाम्रो बुझाइ रहेको छ ।’ घरमा बालबालिकालाई पढ्ने वातावरण बनाउनु पर्ने उनको भनाइ रहेको थियो ।

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी शिवराज शाहीले आफूलाई चिन्न, बुझ्न पनि पुस्तक पढ्न आवश्यक रहेकोमा जोड दिए । ‘आफूलाई मनपर्ने पुस्तक पढ्ने हो ।’ उनले भने –‘पुस्तक पठन संस्कृति प्रतिको धारणा न्यून रहेको छ ।’ साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पुस्तकालयमा वसन्त पञ्चमीको अवसरमा सरस्वतीको पुजा गरेर प्रसाद वितरण गरिएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *