‘हेटौंडा, मकवानपुरे क्रिकेट खेलाडी रिजन ढकालले क्यानडाविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा विकेट लिन सफल भए । एकदिवसीय अन्तराष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यु’ खेलमै रिजनले एक विकेट हात पार्न सफल भए।
उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई आरिफ शेखद्वारा क्याच आउट गराएका थिए । ७ ओभर बलिङ गरेका ढकालले ३४ रन खर्चेर १ विकेटहात पारे । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
बायाँ हाते रिजनले प्रधानमन्त्री कपमा बागमती प्रदेशका लागि उच्च प्रदर्शन गरे । उनले ९ खेलमा १५ विकेट लिए । पावरप्ले र डेथ ओभरमा बलिङ गर्ने उनी स्विंग गराउन माहिर छन् । नेपालको यू १९ टोलीबाट खेलिसकेका रिजनले सिनियर टोलीमा पहिलो पटक बन्द प्रशिक्षण हुँदै अन्तिम टोलीमा स्थान बनाएका हुन् ।







