हेटौंडा, ३१ जेठ/हेटौंडा–१६ हटियामा रहेको जनप्रिय माविमा नमूना गणित प्रयोगशाला स्थापना गरिएको
छ । प्रयोगशालाको मंगलबार उद्घाटन गरिएको छ । गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयमको सक्रियतामा निर्माण गरिएको ल्यावको हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । गणित विषय दैनिक जीवनसंग प्रत्यक्ष जोडिएको विषय भएपनि त्यसको मूर्त धारणा बसाउन प्रयोगशालाको अभावमा बालबालिकाले कठिनाई महशुस गर्ने गरेका छन् ।

प्रमुख अतिथि कोईरालाले जनप्रिय मावि यस्तै गतिविधिले पनि नमूमा बन्न सफल रहेको र आगामी दिनमा पनि विगत जस्तै स्थानीय सरकारका तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताए । उनले शिक्षक विद्यार्थीको यो उत्साहजनक कार्यका लागि गणित विषय ल्यावको कोषमा रहनेगरी व्यक्तिगत १० हजार रुपैयाँ रकम समेत कार्यक्रममा सिनियर म्याथ क्लव संयोजक सलिना गुर्मछानलाई हस्तान्तरण गरेका थिए । व्यवस्थापन समिति सदस्य कृष्ण पनेरुले पनि व्यक्तिगत ५ हजार रकम हस्तान्तरण गरेका थिए । प्रयोगशालाको निर्माण र प्रयोगपछि जस्तासुकै अमूर्त विषयलाई पनि गर्दै र सिक्दै अभ्यासबाट सुत्रतर्फ लैजान सकिने गणित विषय विभाग संयोजक भूपेन्द्र चौलागाईले बताए ।
प्रयोगशालाको प्रयोगबाट बालबालिकामा वैज्ञानिक सोचतर्फ उन्मूख गराउन खास धारणा निर्माण गर्न सकिने उनको भनाई थियो । प्रयोगशालामा अंकगणित, विजगणित तथा ज्यामितीय धारणा बसाउन प्रयोग हुने सामग्री र बालबालिकाका अन्य रचनात्मक सामग्री रहेको छ । विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले छोटो समयमा निर्माण गरिएको हुनाले यस्को अझै विस्तार
गरिने र विद्यालयले बालबालिकाको पठनपानमा आवश्यक कुनैपनि सामग्री अपुग हुन नदिने बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पनेरुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष रामप्रसाद शर्मा, शिक्षक अभिभावक संघका सदस्य बुद्धप्रसाद दाहाल, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, समाजसेवी धिरज कार्की, हटिया जनप्रिय बहुमुखी क्याम्पस प्रमुख विजय नेपाललगायतको आतिथ्यता थियो । कार्यक्रममा कक्षा १० की छात्राद्वय स्नेहा दाहाल र सुरक्षा बञ्जाराले गणित विषय सम्वन्धि सामग्रीको नमूना प्रस्तुती समेत गरेका थिए ।







