मकवानपुरमा ४३८ किलो गाँजासहित दुई जना पक्राउ

हेटौंडा, मकवानपुर जिल्ला प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा भीमफेदी गाउँपालिका–२ चुनिया स्थित त्रिभुवन राजपथ नजिकको भित्री सडक खण्डमा शंकास्पद अवस्थामा रहेका सवारी साधन रोकेको थियो।

ADVERTISEMENT

जाँचका क्रममा लु १ च २१५२ नम्बरको बोलेरो गाडी र बा.प्र.०३–००५ प ४५७६ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिमाथि शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो। बोलेरो चालक कैलाश गाउँपालिका–१० बस्ने अन्दाजी २७ वर्षीय रामबहादुर मोक्तान र मोटरसाइकल चालक सोही स्थानका अन्दाजी १९ वर्षीय अनिल थिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा बोलेरो गाडीको पछाडिको भागमा ढालाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ४३८ किलो ४३ ग्राम गाँजा फेला परेको थियो। प्रहरीले उक्त गाँजा तथा दुवै सवारी साधन बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *