हेटौंडा, हेटौंडा ११ मा रहेको हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नै जग्गामा निर्माण गरेको क्रिकेट खेल मैदानमा मंगलबार क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ।
हेटौंडा एकेडेमीको रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार माधव राज सुमार्गी स्मृति अन्तर माध्यमिक विद्यालय टि २० क्रिकेट प्रतियोगिता भएको थियो । मकवानपुर अन्डर १६ टिम र आयोजक हेटौंडा एकेडेमीबिच भएको क्रिकेट प्रतियोगितामा हेटौंडा एकेडेमी ९ रनले विजयी भएको थियो । प्रतियोगितामा हेटौंडा एकेडेमीका दक्ष चौधरी म्यान अफ द म्याच घोषित भए । नेपाल यू १९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले ब्याटिङ गरेर क्रिकेट खेल मैदानको उद्घाटन गरेका हुन् ।

नेपाल क्रिकेट संघ र मकवानपुर क्रिकेट संघको सहकार्यमा हेटौंडा एकेडेमीले क्रिकेट एकेडेमी पनि सञ्चालन गर्ने एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले बताए । ‘क्रिकेटलाई शिक्षासँग जोड्ने योजनासहित सुविधासम्पन्न होस्टेल सहित एकेडेमी सञ्चालन गरिने छ।’ सुमार्गीले भने –‘क्रिकेटलाई विद्यालयको पाठ्यक्रमको एक अंशका रुपमा लिइने र व्यावसायिकरुपमा पनि सञ्चालन गरिने छ। विद्यार्थीहरुलाई पूर्वक्रिकेटर तथा राष्ट्रिय टिमका खेलाडीहरुको प्रशिक्षणमा क्रिकेट खेल्न सिकाइनेछ ।’

कार्यक्रममा नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी शरद भेषवाकर, क्यानका केन्द्रीय सदस्य करण महत्रा क्षेत्री, बागमती प्रदेश क्रिके संघका क्रिकेट निर्देशक अनिल अधिकारी, बागमती प्रदेश क्रिकेट संघका सदस्य सन्जोग पोखरेल, नेपाल क्रिकेटका टेक्निकल एनालिष्ट रवि थापा, विद्यालयका प्रिन्सिपल गौरीदेवी चिमोरीया, प्रमुख कार्यकारी अधिकृत रमेश रिमाललगायतको आतिथ्यता रहेको थियो । विद्यालयको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन २ गते रुपचन्द्र विष्ट ‘थाहा’ स्मृति अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुनेछ । यो कार्यक्रमको संयोजन सुदर्शन ढकाल रहेका छन् ।






