हेटौँडा, बागमती प्रदेश निर्माण व्यवसायी महासंघले इन्धनजन्य सामग्रीमा भइरहेको अत्यधिक तथा अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्था सिर्जना भएको भन्दै निर्माणाधीन आयोजनाहरूको म्याद थप अपरिहार्य भएको जनाएको छ।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल र मट्टितेललगायत इन्धन सामग्रीको मूल्य पटक–पटक बढिरहेको र त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको जनाएको हो।
महासंघका अध्यक्ष छत्र बहादुर तामाङका अनुसार इन्धनसँगै बिटुमिन, सिमेन्ट र डण्डीलगायत निर्माण सामग्रीको मूल्यमा निरन्तर वृद्धि र बजारमा अभावका कारण पूर्वाधार निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको छ। उनले यस अवस्थालाई भौतिक पूर्वाधार क्षेत्रको ‘सुनामी’ को संज्ञा दिँदै यसको असर मुलुकको समग्र अर्थतन्त्रमा समेत देखिन थालेको बताए।
‘सरकारबाट विगत दुई महिनादेखि केवल मौखिक आश्वासन मात्रै आइरहेको छ। यसले निर्माण व्यवसायी तथा यस क्षेत्रमा आबद्ध लाखौं श्रमिक आर्थिक रूपमा थप समस्यामा पर्दै गएका छन्,’ अध्यक्ष तामाङले भने। महासंघले ठेक्काको मूल्य समायोजन नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्कका आधारमा हुने हालको व्यवस्था व्यावहारिक नरहेको पनि औँल्याएको छ। बजारमा निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहँदा पनि राष्ट्र बैंकको सूचकाङ्कमा भने मूल्य घटेको देखाइने प्रवृत्तिका कारण व्यवसायी थप मारमा परेको महासंघको भनाइ छ।
निर्माण कार्य तीव्र हुने यही मौसममा इन्धन तथा सामग्रीको अभाव र मूल्यवृद्धिका कारण राष्ट्रिय गौरवका आयोजनासहित देशभरका साना–ठूला सबै आयोजना प्रभावित भएको महासंघले जनाएको छ।






