हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेका एक आगलागीका बिरामीलाई चैनपुर जेसीज मनहरीले आर्थिक सहयोग गरेको छ । मनहरी ४ की अनिता गौतमको उपचारका लागि नगद १८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो । आगोले पोलेर गम्भीर घाइते भएकी गौतमको उपचारका लागि मंगलबार घरै पुगेर नगद सहयोग गरेको हो ।
करिब हप्तादिन अगाडी घरमै चुल्हो छेउमा सुत्ने क्रममा उनको शरीरमा आगो लागेको थियो । आगोका कारण गौतमको शरीरको विभिन्न भाग जलेको छ । ‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै आगलागीबाट घाइते भएका अनिता गौतमलाई सहयोग गरिएको हो’, चैनपुर जेसीज मनहरी वर्ष सन् २०२४ का अध्यक्ष रबिन ढकालले भने, ‘पहिलो चरणमा जेसीजकै सदस्यहरुसंग १८ हजार ५ सय रकम उठाएर सहयोग गरेका हौं ।
सहयोग रकम हस्तान्तरणमा जेसीजका प्रमोद अधिकारी, मनोज बिष्ट, शिवराज गिरीसहित मनहरीका नेताहरु मनिला बिष्ट, गोविन्द सापकोटालगायत पुगेका थिए । आवश्यकता अनुसार सहयोग अभियान जारी रहनेछ ।’ बिरामीको थप उपचारका लागि काठमाडौस्थित बर्न सेन्टर लगिएको छ । आवश्यकता अनुसार सहयोग कार्यक्रमलाई जारी राखिने जेसीजका महासचिव कृष्णप्रसाद ढकालले जानकारी दिए ।







