हेटौंडा, हेटौंडाको हुप्राचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा भुटनदेवी माध्यमिक विद्यालय प्रवेश गरेको छ । भुटनदेवी प्रथम संस्करण क्रिकेट प्रतियोगिता विजेता पनि हो ।
शनिबार भएको सेमिफाइनल खेलमा सिद्धार्थ शिशु सदनलाई २०२ रनको फराकिलो अन्तरले पराजित गर्दै भुटनदेवी फाइनल प्रवेश गरेको हो । शुरूमा ब्याटिङ गर्न मैदान उत्रेको भुटनदेवीले २० ओभरमा ६ विकेटको नोक्सानीमा २३४ रनको विशाल योगफल तयार पार्यो । भुटनदेवीका नरेन्द्र अधिकारीले ८६ रन, कृष्ण यादवले ८२ रन र ओम प्रकाश रामले २६ रन बनाए । सिद्धार्थका बिनोद शाहले ३ विकेट लिए ।
जवाफ ब्याटिङको लागि मैदान उत्रेको सिद्धार्थ ११ दशमलव ३ ओभरमा अल आउट हुँदै ३२ रनमै सिमित बन्यो । भुटनदेवी उत्कृष्ट बलिङ र फिल्डिङले गर्दा सिद्धार्थ सस्तैमा समेट्यो । सिद्धार्थका कार्तिक गिरीले ६ रन बाहेक अरु खेलाडीले रन बटुल्न सकेनन् । भुटनदेवीका सजित अलि खानले ३ विकेट, नासिम शेख र रितिक यादवले समान २ विकेट हात पार्न सफल भए ।
आज (आइतबार) फाइनल प्रवेशको लागि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले हेटौंडा एकेडेमीसँग खेल खेल्नेछ ।
मकवानपुर क्रिकेट संघको आयोजनामा मकवानपुरका १३ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।