हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले योगाभ्यासबाट स्वास्थ्य लाभ लिन सकिने बताउँदै दैनिक योगाभ्यास अपनाएर स्वस्थ र तन्दुरुस्त रहन नागरिकलाई आग्रह गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको संयोजनमा हेटौँडाको रोयल पार्टी प्यालेसमा भएको योग शिविरमा मुख्यमन्त्री लामाले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीनाले मानव जातिको स्वास्थ्य र समग्र कल्याणका लागि योग जरुरी भएको बताउनु भयो । योगशिविरमा विभिन्न राजनीतिक दलका नेता, प्रतिनिधि, विभिन्न नागरिक संगठनका पदाधिकारी, सदस्यसहित २ सय जनाको सहभागिता थियो । सन २०१४ मा संयुक्त राष्ट्र महासभाले नेपालसहित १ सय ७७ देशमा अन्तर्राष्ट्रिय योग दिवसको तिथि तय गरेर मनाउन भनेको थियो । यो वर्ष ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योगको महत्व’ नारा तय भएको थियो ।
नेपाल भारत विश्व मैत्री संघ, नेपाल भारत मैत्री संघ, डायनेमिक पब्लिक लाइब्रेरी, हेटौँडा र पतञ्जली योग समिति, मकवानपुरले संयुक्तरुपमा योगशिविर आयोजना गरेको हो । योगशिविर आयेजनाका महावाणिज्यदूताबासले सबैमा आभार प्रकट गरेको छ ।







