‘अबको शिक्षा पढाइ, सिकाइ र कमाइमा केन्द्रीत हुनुपर्छ’

हेटौंडा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा देवराज अधिकारीले नेपालको शिक्षा अब पढाइ, सिकाइ र कमाइतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । शनिबार नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनको क्षमता विकास गराउने उद्देश्यले हेटौंडामा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलनमा डा.अधिकारीले विद्यालय तहबाटै पाठ्यक्रममा स्टार्ट अप कार्यक्रम समावेश गरी विद्यार्थीलाई उद्यमी बनाउनेतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिएका हुन् । ‘रोजगारी भन्दा पनि आफू उद्यमी बन्न अग्रसर हुनुपर्छ’, उनले भने ‘सरकारले स्टार्ट–अप उद्यमीलाई तीन प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

ADVERTISEMENT

स्टार्ट अप र इनोभेसन कार्यक्रमको लागि आयोगले पनि रकम विनियोजन गरेको छ ।’ अब आउने १० वर्षमा नयाँ उद्यमीले फड्को मार्ने उनको दावी रहेको छ । दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनबाट सिकेको कुरा क्याम्पसमा पनि लागू गर्न उनले आग्रह गरे । कार्यक्रममा प्रा.डा प्रेमराज पन्तले युवाहरू उच्च शिक्षा अध्ययन गर्न र रोजगारीको सिलसिलामा विदेशिनुले अहिले नेपालमा सुनामी लहर छाएको बताए ।

विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुपर्ने धारणा राखे । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारले धेरै नै काम गर्न बाँकी रहेको धारणा राखिन् । नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनको क्षमता विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी वर्ष वृहत कार्यक्रमको आयोजना गर्ने लामाले प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले विद्यार्थीलाई नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनको लागि स्थानीय तहबाटै कार्यक्रम सञ्चालन गर्न मेयर लामा समक्ष आग्रह गरे । ‘युवा शक्तिलाई क्षमता अभिवृद्धि तालिमहरु सञ्चालन गर्नुपर्छ । विदेश पलायन भएका युवाहरुलाई रोक्नुपर्छ’, जोशीले भने, ‘अन्तर प्रेरणा संस्थासँग सहकार्य गरी क्याम्पसले विद्यार्थीलाई नवीनता प्रदान गर्ने उद्देश्यले व्यापार प्रवद्र्धन केन्द्र स्थापना गरेका थियौँ । १० वर्ष अगाडीको परिकल्पनाले अहिले सार्थकता पाउँदैछ ।’

विश्वका ३६ वटा देशमा साना र मध्यम उद्यमीहरुलाई क्षमता विकास गर्दै आइरहेको नेदरल्याण्ड पम संस्थाका सिनियर विशेषज्ञ हेन्क तेर स्टेजीले नेदरल्याण्डको स्टार्ट अपको अवस्था, स्टार्ट अप २०२२ को रिपोर्ट प्रोजेक्टरमार्फत प्रस्तुत गरेका थिए ।दुईदिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेदरल्याण्डका पम संस्थाका सिनियर विशेषज्ञ हेन्क तेर स्टेजीले शैक्षिक–उद्योग सम्बन्धी कार्यशाला, रोभ भान स्टारले डिजिटल युग, जेनेरेटिभ एआईमा क्यारियर मार्ग, एआइका अवसर र चुनौती, इगनेस क्याथरुसले वित्तिय सेवाहरुमा नवीनता, डा. सस्कीया जेएम मर्किमाले र भारतका पिसिटिइ निर्देशक नरेश सचदेवले शैक्षिकभित्र इन्क्यूबेटरहरु विषयमा प्रशिक्षण दिइरहेका छन् । शनिबार स्टार्ट अप नीति, शैक्षिकभित्र इन्क्यूबेटर, नेटवर्किङ, कामको भविष्य, शैक्षिक र उद्योगको लिङ्केज, प्रतिभा प्रदर्शनीलगायतको कार्य हुने कार्यक्रम संयोजक दिपेश खनालले जानकारी
दिए ।

Advertisement 5

आइतबार डिजिटल युगमा बौद्धिक सम्पत्तिको अधिकार, नेटवर्किङ, वित्तिय क्षेत्रमा इनोभेसन, इन्क्युबेशन पेडागोजी, सरकारबाट नवप्रवर्तन र इन्क्युबेशन केन्द्रको अपेक्षा, जेनेरेटिभ एआईमा क्यारियर मार्गहरु, एआइका चुनौती र अवसरहरुलगायतको विषयमा छलफल हुनेछ । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजना तथा विभिन्न संघसंस्थाको सहआयोजना र साझेदारीमा अन्तर्राष्ट्रिय सम्मेनल सुरू भएको हो ।

स्टार्टअप प्याभिलियनमा २० वटा स्टार्टअप उद्यमीहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेल, इन्टरपेनरसिप इकोसिस्टमका निरज खनाल, कारखना संस्थाका सिइओ पवित्र गौतमलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *